इन्फ्रास्ट्रक्चर आइडिया हन्ट-२०२२ आयोजना गर्दै परिसंघ

Admin Cniyef 08 Sep 2022

काठमाण्डौं, ६ भदौ । नेपाल उद्योग परिसंघले इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ आयोजना गर्ने भएको छ । व्यापारका नयाँ क्षेत्र, सम्भावना र सम्भाव्यता पहिल्याउन आयोजना गर्न लागिएको यो कार्यक्रममा सहभागिताका लागि आफ्नो आइडिया पठाउन परिसंघले आवेदन खुलाएको छ। 

आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा यो सम्मेलन आगामी भदौ २३ गते हुने नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को चौथो संस्करण अन्तर्गतको एउटा कार्यक्रम रहेको परिसंघले जनाएको छ ।

आइडिया स्टुडियो नेपालका अनुसार पूर्वाधार विकासका लागि नवीनतम बिजनेस आइडिया भएका नेपालभित्र र विदेशमा रहेका नेपालीलाई प्रोत्साहन र अवसर प्रदान गर्ने लक्ष्यका साथ आवेदन फारम खुला गरिएको हो ।

हाल राष्ट्रले भोग्नुपरेका सामाजिक-आर्थिक अवरोधहरू समाधान गर्न यो कार्यक्रमबाट मद्दत मिल्ने अपेक्षा आयोजकको छ । इन्फ्रास्ट्रक्चर फर ग्रोथ भन्ने नाराका साथ काठमाडौंमा आयोजना हुने दुई दिने कार्यक्रममा शीर्ष तीन बिजनेस आइडियाले क्रमशः नगद १ लाख ५० हजार,  १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने बताइएको छ ।