युवा उद्यमी मञ्चमा प्रफुल्लित प्राची

Admin Cniyef 08 Sep 2022

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) को नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको छ । अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बन्नुभएको हो । 

नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध एक सफल व्यवसायी हुनुहुन्छ । उहाँले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ एवं र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गर्नुभएको छ । 

सन् २०२१/२०२२ को अध्यक्ष अमुन थापा हुनुहुन्थ्यो । सस्तोडिलका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका थापा मञ्चको गभर्निङ काउन्सिलमा सामेल हुनुभएको छ । थापासँगै गभर्निङ काउन्सिलमा पूर्व अध्यक्षहरु रोहित गुप्ता र चाङ अग्रवाल हुनुहुन्छ । 

मञ्चको नयाँ बोर्डमा अनुराग गोयल (लर्निङ चेयर), आशिष अग्रवाल (सहायक लर्निङ चेयर), मनिष श्रेष्ठ (सदस्य र संलग्नता चेयर), चिराग सरावागी  (कम्यूनिकेसन चेयर), अंकुश अग्रवाल (फाइनान्स चेयर) र सुगम घिमिरे (स्टार्टअप  चेयर) निर्वाचित हुनुभएको छ । 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २०१७ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णु कुमार अग्रवाल हुनुहुन्थ्यो । अग्रवाल हाल नेपाल उद्योग परिसंघको अध्यक्ष हुनुहुन्छ । युवा उद्यमी मञ्चले हालै सिएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको सफल कार्यक्रम संचालन गरेको थियो । उक्त फेस्टमा ७ वटा स्टार्टअपले २४ करोड ५० लाख रुपैयाँ लगानीको प्रारम्भिक सम्झौता गरेका थिए ।